आज साउने सङ्क्रान्ति, कसरी मनाइन्छ ?


काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् । आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ।

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top