रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता


काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिनामा लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएर पुरक अभियोग दायर गरेको हो।

यसमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ। लामिछाने र जोशी हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन्। त्यसबाहेक मुद्दा दायर भएका सबै जना फरार कायम गरी मुद्दा दायर भएको छ।

सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ।

सहकारी ऐन अनुसार जोशीलाई चार वर्षदेखि ६ वर्षसम्म कैद र लामिछानेलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरेको छ। त्यसबाहेक संगठित अपराध निवारण ऐन अनुसार थप सजाय माग गरेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top