आज कोजाग्रत पूर्णिमा, मिथिलामा विशेष महत्त्व: नव विवाहित जोडीमा उत्सव


काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएको जनकार बताउँछन् ।

माता दुर्गाका तीन वटा रूपमध्येका एउटा रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।

‘कोजाग्रत पूर्णिमामा सबै देवीका लागि पूजा पूरा गर्ने दिन अर्थात् अखिल पूजा पूर्ति गरेपछि दसैँ समाप्त हुन्छ । महालक्ष्मीसँगै योदिन हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेयप्राप्तिका लागि यहीदिनदेखि आकाशदीप दान पनि शुरु हुन्छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई गरिन्छ । आकाशदीप दानकाे लागि कागजकाे घर बनाएर लिँगाकाे टुप्पाेमा राखि एक महिनासम्म बाल्ने गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि यहीदिनदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर अनेकौँ कर्मदेखि महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

कार्तिक स्नान गर्नेले योदिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

मिथिलाञ्चलमा विशेष तरिकाले मनाईन्छ कोजाग्रत पूर्णिमा

मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् ।

असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् । मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।

पान, मखानसहित महालक्ष्मीको पूजाआराधना गरिन्छ । भोलिपल्ट सूर्योदय भएपछि कोजाग्रत पूजा समापन गरिन्छ । कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै दरिद्र नहुने जनविश्वास छ ।

कोजाग्रतका दिन मिथिलामा दूध मखान र पान पनि खाने चलन छ । पान, मखान दुवै सौन्दर्य र सुखको प्रतीक मानिन्छन् । यसै परम्पराले कोजाग्रतमा पान र मखानको विशेष महत्व छ ।

मिथिलाका नव विवाहित जोडिमा कोजग्राको उत्सव

मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।

पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नै पर्ने हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिदैं ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो ।

चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्वता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ ।

यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ । मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ ।

जानकी मन्दिरमा उत्सव मनाइँदै

कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ । यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् ।

यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका १ सय ८ वटा भार यस पटक पनि आएको छ ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ । मैथिल संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौं लोकगीतमा यसको चर्चा पाइन्छ ।

भाइ-बहिनीको अमरप्रेमको प्रतीक पर्व सामा चकेवाको गीतमा बहिनीले आफ्नो भाइका लागि यसरी गीत गाउँछिन्: ‘पनमा जे खएला हो भैंया पिकीया नेडौला अहीठाम तहि पिकिये हो भैया जङ्गा-जमुना अएलइ बाढि’ त्यस्तै सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई भन्छिन्: ‘ढोलिएक पान देलनि किछु नहि देलनि ।’

एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ: ‘हँसी–हँसी पनमा खियौले बइमनमा, कि अपने वसे रे परदेश, गोरी रे चुनरियामे दगिया लगाइ गेले मारिके करेजबामे ठेस ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top