काठमाडौं । बडादशैंको आज आठौँ र नवौं दिन । तिथिको घटबढका कारण आज महाअष्टमी र महानवमी एकै दिन परेको छ । ज्योतिषकाअनुसार शुक्रबार बिहान ६ बजेर ५० मिनेटसम्म अष्टमी तिथि परेको थियो भने ६ बजेर ५१ मिनेटबाट महानवमी सुरु भएको हो । ज्योतिषका अनुसार महानवमी तिथि शनिबार बिहान ५ बजेर ४६ मिनेटसम्म छ भने ५ बजेर ४७ मिनेटबाट विजया दशमी सुरु हुनेछ ।

बडादशैंको आठौँ दिन आज विहान ७ बेज भित्रसम्म देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ । त्यस्तै प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ ।
आज दशैंघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ ।
पशुबलि नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दशैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, वज्रबाराही तथा उपत्यकाबाहिरका काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, रौतहटको मत्सरी दुर्गा भगवती सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।
बडादसैँको आठौँ दिन माता पार्वतीको रूप मानिने महागौरीको विशेष पूजा गरिन्छ । पौणाणिक कथाअनुसार उनले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेकी थिइन् । त्यस कारण उनको रङ धेरै कालो भएको र भगवान् शिवले गंगाजल छर्किएर फेरि गोरो बनाएकाले उनलाई महागौरी भनिएको शास्त्रहरूमा उल्लेख छ ।
सांसारिक रूपमा महागौरीको स्वरूप अत्यधिक उज्यालो, कोमल, श्वेत वर्ण र श्वेत वस्त्रधारी हुन्छ । गुलाबी रङको कपडा लगाएर माता महागौरीको पूजा गर्दा उल्लेखित मन्त्र उच्चारण गर्नुपर्छ ।
‘श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।
या देवी सर्वभूतेषु माँ महागौरी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।’
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोत पूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन रहेको छ । हनुमान ढोका दरबार क्षेत्रमा वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्दछ ।

यसअघि आज बिहान महाअष्टमीको तिथि भित्रै महागौरी देवीको पूजा आराधना गरिएको थियो । नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको हो । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।






