काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम (डि.भी.) अक्टोबर २ अर्थात गत रात ९: ४५ बजे (नेपाली समय) बजेबाट खुल्ला भएको छ । यसको आवेदन नभेम्बर ५, राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदक कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।

अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।
आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: ४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०: ४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।
अनलाइन फारम कसरी भर्ने ?
सन् २०२६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ । तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकि यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
सन् १९९१ बाट अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । अफ्रिकी तथा एशियाली नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् (डि.भी.) चिठ्ठा भर्दै आएका छन् ।






