प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् ।

गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गरेका थिए ।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भएको थियो।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेका स्वागत समारोहमा सहभागी भएका थिए।

त्यसक्रममा उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

भ्रमणका क्रममा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृतहरु पनि अमेरिका गएका थिए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top