रवि लामिछानेको जिम्मेवार वक्तव्य ! (२० हाइलाइट्स सहित..)


काठमाडौं । आम चुनावभन्दा पहिले रास्वपा सभापति रवि लामिछानेका वक्तव्यहरु सन्तुलित र तथ्यपरक कम थिए । झन्डै दुई तिहाइ निकटको अभुतपूर्व बहुमतपछि उनी शान्त, संयम र जिम्मेवार देखिएका छन् ।

चुनावभन्दा ठीक अघिका भाषणहरूमा उनी आफूलाई सुतेकै ठाउँमा अन्तिम इच्छा सोध्न आउनेविरुद्ध मत खसाल्न उत्तेजक आह्वान गरिरहेका हुन्थे । उनी प्रश्न सोध्ने पत्रकारहरूप्रति समेत आक्रामक रुपमा भन्थे, ‘प्रश्नको ठेक्का कसैलाई दिएका छैनौं ।’

शब्दहरूमा कठोर पकड राख्न सक्ने पूर्वसञ्चारकर्मी लामिछाने बोलेर मासलाई अपिल गर्दैगर्दा प्रधानमन्त्री प्रस्तावित अर्का नेता बालेन शाह भने नबोलेर वा कम बोलेर प्रभाव पारिरहेका हुन्थे ।

रास्वपा सांसदहरूका लागि पार्टीले ग्वार्कोमा राखेको दुई दिने अभिमुखीकरणको समापन क्रममा बुधबार सभापति लामिछानेले आफ्नो शैली पूर्ण रुपमा बदलेको देखियो । उनले दुई तिहाइ निकट बहुमत पाएको पार्टीको सभापतिका रुपमा राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रहरुलाई आफ्नो पार्टीको नेतृत्वप्रति भरोसा गर्न अपिल गरेका छन् ।

उनले निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदाय अनि लगानीकर्ताहरुलाई समेत विश्वास दिलाउन खोजेका छन् ।

लामिछानेको पूर्ववत् आक्रामकता अब नयाँ भूमिकासहित बदलिने संकेत देखिएको छ । उनले रास्वपाका कार्यकर्तालाई राम्रोसँग प्रशिक्षित गर्ने समय नै नपाएको स्वीकार गर्दै सामाजिक सञ्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्न निर्देशन दिएका छन् । उनले रास्वपा समर्थकहरुलाई विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न पनि आह्वान गरेका छन् ।

पार्टीका सांसदहरूलाई जनताको शासक होइन, सेवक बन्न उनको अपिल छ । अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिए । सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपिल गरे ।

लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई उनीहरुले इतिहासमा गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिए । आफूहरुले इतिहासको योगदानलाई धन्यवाद भनेको, अनि भविष्यको जिम्मेवारी चाहिँ रास्वपाले लिने उनले सन्देश दिए ।

पार्टी स्थापनाकालदेखि साढे तीन वर्षमा कदम–कदममा चुनौती बेहोर्नुपरेको, तर त्यसलाई नागरिकको मायाले जित्दै आएको लामिछानेको भनाई छ ।

अब सरकारमा आएर परिणाममार्फत् त्यो गुन तिर्ने उनले बताए ।

लामिछानेले नागरिकमा नेतृत्वप्रति निराशा रहे पनि उनीहरुलाई ३५ वर्ष कुरेको, तर आफूहरुलाई ३५ दिन पनि नकुर्ने भन्दै पाइला पाइलामा सावधान रहेर सही काम गर्न आग्रह गरे । सांसदहरुलाई उनले यसअघिको जस्तो निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि निर्देशन गरे । ‘पार्टीभित्र स्वतन्त्रता छ, तर यसको अर्थ अनुशासन पनि त्यहीँनेर छ,’ लामिछानेले भने, ‘धेरै कुरामा विचार गर्नुहोला । यसपल्ट हामी राइट टु रिकल (प्रत्याह्वान) को व्यवस्थालाई कडाईका साथ लागु गर्नेछौं ।’

उनले मन्त्री बन्ने दौडमा सामेल नहुन सांसदहरुलाई आग्रह गरे । स्वार्थसमूहहरुले विभिन्न बहानामा प्रभावित पार्न कोसिस गर्ने भन्दै सतर्क हुन उनको आग्रह थियो । रमाइलो वा उत्सवको अनुभूति नराख्न उनले भन्दै सम्झना दिलाए, ‘याद राख्नुहोला, यहाँ शहीदकी आमा पनि छिन् । आफ्नो छोरा गुमाएर उनी संसदमा आएकी छन् ।’

यसअघिका सरकार निर्माण क्रममा अनुभूति सुनाउँदै सभापति लामिछानेले भने, ‘सरकार बनेकै साँझदेखि ढाल्ने प्रयासमा समूहहरु लाग्छन् । हामी सतर्क बन्नुपर्छ ।’

लामिछानेले वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो आस्था अविच्छिन्न कायम रहेको भन्दै आशंका नराख्न पनि आग्रह गरे । नेपाली जनताले अहिलेसम्म कसैलाई नगरेको विश्वास रास्वपालाई गरेकाले यसको महत्व बुझ्न उनले सांसदहरुलाई निर्देशन दिए ।

वरिष्ठ नेता बालेन शाह कार्यक्रममा सहभागी भएनन् । लामिछानेले बालेनको नाम आफ्नो मन्तव्यमा उच्चारण गरेनन् ।

बालेन स्वास्थ्यलाभ गरिरहेको रास्वपाले जानकारी दिएको छ । यद्यपि उनी रुटिन अफ् नेपाल बन्दका सन्चालक भिक्टर पौडेलले लेखेको स्टाटसमा कमेन्ट लगायत क्रियाकलाप गरिरहेको बेला पार्टीको महत्वपूर्ण बैठकमा किन एकछिन पनि सहभागी भएनन् भन्ने जिज्ञासा उठिरहेको छ ।

बालेनले हालसम्म एकपल्ट बाहेक पार्टी कार्यालयमा जाने, सचिवालय लगायत बैठकमा सामेल हुने गरेका छैनन् । कार्यक्रममा उनको नाममा नामै लेखेर सिट रिजर्भेसन गरिएको थियो ।

यससँगै उनले गरेका सम्बोधनको २० हाइलाइट्स :

१) संसारको कुनै पनि देशले विरलै पाउने यो अवसर तपाईं हामीले प्राप्त गरेका छौं। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं।

२) यो सामान्य परिस्थितिले आएको होइन, स-साना भाइबहिनीहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरौं।

३) अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस्।

४) मलाई सोध्नुहुन्छ भने मेरो लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। सोसल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ।

५) रास्वपाले चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं। तुलनात्मक रूपमा रास्वपाले अन्य धेरै अन्य राजनीतिक दल भन्दा धेरै महिला साथीहरूलाई उठायो। तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमायाचना गर्दै भन्छु– हाम्रो पार्टीभित्र राई–लिम्बू समुदायको प्रतिनिधित्व योपालि प्रतिनिधिसभामा हुन सकेन।

६) म स्पष्ट पार्न चाहन्छु– तपाईंले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोहोरेर लानुभयो कर्णालीलाई रूवाउनु भयो, मधेसलाई रूवाउनु भयो, सुदूरपश्चिमलाई रूवाउनु भयो भने त्यो विकास होइन। सिंगो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ।

७) कर्णालीमा बाटो पुग्यो कि पुगेन? कर्णालीमा अस्पताल बन्यो कि बनेन? कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्‍यो कि परेन? मधेसमा, भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन? स्वच्छ खानेपानी पुग्यो कि पुगेन? बालबालिकाहरूले पोषण पाए कि पाएनन्? विकासको सूचक यो हो। तपाईंहामीले सोचेको विकास यही हुनुपर्ने छ।

८) एउटा चुनावबाट अर्को चुनावका लागि होइन एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौं हामी।

९) म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानमा प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ। तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन। डगमगाउने वाला पनि छैन। यहाँहरुले पनि त्यसलाई डगमगाउन दिनु हुने छैन भन्ने मैले विश्वास लिएको छु।

१०) इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको मात्रै हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कैयन् बेथितिहरूप्रति हाम्रो प्रश्न हो। तर इतिहासमा उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन।

११) विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरुलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन। त्यो लोकतन्त्रको चरित्र होइन।

१२) हामीमाथि धेरै आरोप लागेको छ– रास्वपाका प्रायः अराजक छन्। रास्वपाका समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्। सामाजिक सञ्जालमा गालीगलोजमा उत्रिन्छन्। व्यक्तिगत गाली गलोजमा उत्रन्छन्। छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु– अब त्यसबाट बाहिर निस्कनुपर्छ।

१३) तीन वर्षमा आक्रमणै आक्रमण झेल्दै आएको रास्वपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईंले समाजका विभिन्न तह र तप्कामा लिनु भएको प्रशिक्षणले तपाईंको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जाल सामाजिक प्लेटफर्महरूमा सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्छु।

१४) यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो, हामीले प्रमाणित गर्नुपर्ने छ।

१५) देशको विश्वविद्यालयहरूले काचुली फेर्नु पर्ने छ। उद्योग कलकारखाना चल्नुपर्नेछ। देशमा कामधन्दा निरन्तर चल्नुपर्ने छ। इम्प्लोइमेन्ट क्रिएट गर्नु पर्ने छ।

१६) मुलुक नया मान्छेहरूको हातमा गयो कहीँ अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका भ्रम या आशंकाहरू कतै कतै भएको छ। म चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। विल ह्यान्डल इट विथ केयर, हामी यसलाई एकदमै केयरफुल्ली यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ अत्यन्त सौहार्दका साथ करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौं।

१७) सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौं।

१८) विधानमा भएको ‘राइट टु रिकल’ लागू गर्छौं।

१९)  तपाईंहरूमध्ये कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनुहोला। किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा ककसलाई पठाउँछ भन्ने कुराको निर्णय आज उभिँदासम्म हामीले गरेका छैनौं।

२०) पार्टीले सही निर्णय गर्छ। कसैलाई तपाईंहरूले भन्नुपर्दैन। हामीलाई तपाईंको विज्ञता, क्षमता थाहा छ। कयौं साथीहरू देखिएको देखियै गर्नुहुन्छ कयौं छेकिएको छेकियै गर्नुहुन्छ। पार्टीले छेकिएका साथीहरूलाई पनि हेरिरहेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top